सामाजिक सञ्जालमार्फत कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो आस्था र अस्तित्वसँग जोडिएको विषय भएकाले कांग्रेसका सबै उम्मेदवारलाई जिताउनु जरुरी रहेको बताएका छन्।
Advertisement 1
काठमाडौंमा आयोजित एक कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यसपाली जनतामाझ लोकप्रिय उम्मेदवार तय गरेको बताए । कतिपयलाई मन भएको र चित्त समेत दुखेको भए पनि पार्टी एकता कायम राख्ने गरी टिकट वितरण गरिएको उनले बताए । महामन्त्री पौडेलले भने, ‘पार्टीलाई धेरै सिट जिताउन एकता कायम गर्नु आवश्यक छ ।’
यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए ।
पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने तयारी गरेको उल्लेख गर्दै महामन्त्री पौडेलले भने, ‘सच्चिने र सच्याउने प्रक्रियामा अझ धेरै काम गर्नु जरुरी छ । देश विकासमा प्रष्ट दृष्टिकोण समेट्ने घोषणापत्र आउनेछ ।’ निर्वाचनमा परिणम ल्याउने गरी सबै लाग्न जरुरी रहेको बताएका उनले सामाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गरे । ‘हाम्रा १० लाख सक्रिय सदस्य छन्,’ उनले भने, ‘कम्तिमा पनि तीन लाख सदस्य सामाजिक सञ्जालमा सक्रिय हुने हो भने हाम्रा पक्षमा माहोल सिर्जना हुन्छ । हामा उम्मेदवार र पार्टीको बदलिएको नीतिका पक्षमा सबैले सक्दो पोष्ट गरौं ।’ यस्तो अवस्थामा पार्टीलाई चुनाव जित्न र बदलिएको सन्देश आम नागरिकसमक्ष पुर्याउन सहज हुने समेत महामन्त्री पौडेलले बताए ।
Advertisement 2















