सरकारी रकम नबुझाउने कर्मचारी तथा सशस्त्र प्रहरीसहित ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक

काठमाडौं। सरकारले सरकारी रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणमा आधा दर्जनभन्दा बढी कर्मचारीसहित निर्माण व्यवसायी, कृषि व्यवसायी, सशस्त्र प्रहरीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू समावेश छन्।
Advertisement 1
महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहलले ती व्यक्तिहरूको नाम, ठेगाना र तिर्न बाँकी रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा र ब्याज बुझाउन निर्देशन दिएको छ। तोकिएको अवधिभित्र रकम नबुझाएमा प्रचलित कानुनबमोजिम चल–अचल सम्पत्ति दाबी गरी असुल उपर गरिने चेतावनीसमेत दिइएको छ।
सार्वजनिक सूचनाअनुसार सरकारी रकम तिर्न बाँकी रहेकाहरूको लगत कायम गरी उनीहरूको नाम वेबसाइटमार्फत सार्वजनिक गर्दै रकम बुझाउन विगतका वर्षहरूमा पटक–पटक सूचना प्रकाशित गरिएको थियो। साथै सम्बन्धित व्यक्तिहरूको घरठेगानामा पत्राचार गरी उपस्थित हुन आग्रह गरिएको थियो।
Advertisement 2
तर ती सबै सूचना र प्रयासका बाबजुद पनि सरकारी रकम बुझाउने काम नभएपछि बाध्य भएर तीनपुस्ते विवरण सार्वजनिक गरिएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ।
















