मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

झापा। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ। कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु १ अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैँची निर्यात भएको हो।
Advertisement 1
३ महिनामा १ हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिएकाछन्। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु १ अर्ब ७ करोड २२ लाखबराबरको अलैँची निर्यात भएको उनले बताए।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ३ महिनामा चियाको निर्यात ४० दशमलव ९० प्रतिशतले घटेको छ। उक्त अवधिमा रु १ अर्ब १ करोड २१ लाख ८६ हजार मूल्यबराबरको चिया निर्यात भएको छ। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु १ अर्ब ७१ करोड ४० लाख ३१ हजारबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए।
Advertisement 2
कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट १ सय २६ प्रतिशत, छुर्पी ६१ दशमलव ८० प्रतिशत, प्लाइउड शतप्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ७१ दशमलव ४० प्रतिशत, धातुका अन्य अवशेष शतप्रतिशत, मुसुरो दाल ४ सय ८१ प्रतिशतले वृद्धि भएको छ। यसैगरी अदुवा ३२ दशमलव ३० प्रतिशत र अम्रिसो निर्यातमा २४ प्रतिशतले कमी आएको छ। मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा रु ४ अर्ब ८० करोड ३९ लाख २४ हजारको मालवस्तु निर्यात भएको छ।










