कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष

कञ्चनपुर। कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना संकलन गरी प्रयोगशालामा जाँच गर्दा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला पारेको छ।
Advertisement 1
एकाइ कार्यालयका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टका अनुसार शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सञ्चालनमा रहेका ६ वटा पसलबाट संकलन गरिएका १० वटा तरकारीका नमूनामध्ये तीतेकरेलामा उपभोग गर्नै नहुने मात्रामा विषादीको अवशेष पाइएको हो। करेलाको नमूना परीक्षण गर्दा कार्वामेट १४ दशमलव ८५७ र अर्गानोफस्फेट ६० दशमलव ५९९ प्रतिशत रहेको पाइएको भट्टले बताए।
‘तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा भए केही दिन राख्ने र पर्खने विषादीको मात्रा घटेको पाइए मात्र खानयोग्य हुन्छ, क्वारेन्टाइन गर्नुपर्ने हुन्छ,’ एकाइ कार्यालयका नायब प्राविधिक सहायक भट्टले भने, ‘विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी पाइए विर्सजन (नष्ट) गर्नुपर्ने हुन्छ, खानयोग्य हँदैन।’
Advertisement 2
उनका अनुसार प्रयोगशालाले कार्वामेट र अर्गानोफस्फेट गरी दुई समूहका विषादीको परीक्षण गर्दै आएको छ। झलारी बजारमा रहेका ६ वटा पसलमा एकाइ कार्यालयको टोलीले अनुगमन गरी काँक्रो, लौका, रायो, भिन्डी, आलु, करेला, बोडी, गोलभेँडालगायत गरी १० वटा नमूना प्रयोगशालामा जाँचका लागि संकलन गरी परीक्षण गरेको हो।


 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                