भ्यालिनटाइन डे

सधै झै बिहान ६ बजे मोबाईलमा सन्देशको घण्टी बज्यो “ थाहा छैन यस अघि पनि तिमीसङ्ग मेरो नाता थियो थिएन तर लाग्छ जन्म जन्मान्तर देखि प्रेमसङ्ग टुटेको मेरो नाता पुन तिमी मार्फत जोडिएको छ । कृया प्रतिकृयाको घेराबाट मुक्त भइ प्रकृति भएको मेरो प्रेम कहिलै बदलिने छैन । जसको ओसले सधै मलाइ हरियो राख्नेछ ।” उसका मिठा प्रेमले भरिएका सन्देश दिनमा अनगिन्ती पटक पढेर कल्पिन्छु म । ३५ वर्षको सङ्घारमा गुलाबी उमेर फेरी फर्कीएको छ मेरो । मान्छेलाई जीवन्त र युवा राख्ने कुनै एण्टी एजिङ्ग क्रिम वा कसरतले नभई प्रेमले रहेछ । पहिले पहले झर्को लाग्ने प्रेम शब्द नै प्रितिकर लाग्न थालेको छ आजकल । बस उसैको सन्देशको प्रतिक्षा रहन्छ । सन्देश नआएको दिनै अध्यारो । अनि उसको एउटा छोटो सन्देश नै काफि हुन्छ मेरो ठुस्स दिनलाई मनाउन, हसाउन । आजकल कुनै पनि तनावले छुदैन मलाई । भित्र भित्रै मुसुमुसु अनि फुरुङ्ग, हर क्षण पुतली झै उडु उडु लाग्ने ।
Advertisement 1
एकाबिहानै सोधे कति प्रेम गर्छौ । प्रतिउत्तर आयो “नसोध मलाई कति प्रेम गर्छु किनकी म भन्न सक्दिन तिमी बिना मर्छु । तर जब आखा चिम्ली आफैमा हराउछु । यो हृदयमा तरल तिमीलाई पाउछु । पग्लिन्छु, म बगेर यी नयन रसाउछन् बस त्यही दुई थोपा प्रेम म तिमीलाई गर्छु ।” उ त प्रतिष्ठित लेखक नै थियो । शब्दजाल बुन्न जान्ने । म चाही उसको शिकार । हराउदै थिए उसको शब्दजालमा । एक मनले त भन्थ्यो केटाकेटी जस्तो के भाको तलाई किन व्यर्थमा समय खेरा फालेको तर अर्को मनले भन्थ्यो खुसी छु म । आखिर मान्छेको जीवन खुसी भएर बित्नु नै सार्थक कुरा हो । सभ्य समाजले भन्ने गरेको अविवेकी भएर खुसी मिल्छ भने त्यो लागत पनि मलाई स्वीकार छ । बाहिर मान्छेले के भन्छन् भन्दा पनि भित्र आफुले के अनुभव गरिन्छ ठुलो कुरा हो । होइन र ?
हरेक दिन गल्दै गएको थिए म उसको प्रेममा । कोभिडले ग्रस्त कार्यक्रम झै भर्चुवल हाम्रो प्रेम, अब प्रतक्ष्य हुने भएको थियो । यानी भेट्ने योजना बन्यो । भेट्ने भनेको दिन बिहान सन्देश आयो “ प्रेमी प्रति कृतज्ञता व्यक्त गर्न शब्द बनेका रहेनछन् । आज मेरो कृतज्ञ हुने दिन, चन्द्रमा झै उज्वल र सितल त्यो मुहारमा देख्दा यो हृदय अहोभाव भरियोस् । ति कमल जस्ता अधरलाई छुदा मेरो भाव वासना मुक्त हुन् । तिमीमा हराउदा बिलाउदा मलाई अस्तित्वकै बोध होस् ।” सन्देशले रोमान्चक काउकुती लग्यो मलाई । दिउसो १ बजे भेट्ने योजना तर बिहान देखिकै तरखर र चुरीफुरी थियो मेरो । अष्ट्रेलियाबाट दिदिले पठाएको उसलाई मनपर्ने रङ्गको कलेजी गाउनमा, जाने सम्मको श्रृङ्गार गरेर ,उसैले पठाएको भिक्टोरिया सिक्रेटको सुगन्ध उडाउदै तयार भए म । अनौठो लाज र रोमान्चक भावले मेरो मन कहिले खुम्चने र कहिले फुलिने गर्दै थियो । हतारले पौने १ बजे नै क्याफे पुगे । उसले पुरै क्याफे नै बुक गरेको रहेछ ।
Advertisement 2
क्याफेको प्रवेश द्धारमा “ स्वागत मेरी जुनकीरी ” लेखिएको बोर्ड, वरीपरी रातो र सेतो गुलाबले बेरेर अडाइएको थियो । म्याडम एता भनेर वेटरले इसारा गर्यो । सामान्यतया करिब २० वटा टेबुल र ८० वटा मेच रहने हल पुरै खाली थियो । हलको ठ्याक्कै विचमा एउटा टेबुल र दुईटा मेच थिए । टेबलको माथि सानो तामाको तमौरामा रातो गुलाब र बालिएका वासनादार क्यान्डल तैरदै थिए । वरीपरी हेरे हलका भिट्टाहरुमा रङ्गीचङ्गी ह्याप्पी भ्यालिनटाइन लेखिए गुब्बारा लपक्कै टासिएका थिए । देखेर मनै फुरुङ्ग भयो । उसलाई भेटेर के भन्ने होला ? के गर्ने होला ? परिकल्पना गर्न थाले ।
१ बज्यो, २ बज्यो, ३ बज्यो । दुई चार कप क्याफे ल्याते आयो तर उ आएन । पहिले त कतै मिटिङ्गतिर फस्यो होला सोचे । ३ बजे पछि मेरो मनमा चिसो पस्यो । उसको फ्लाइट १२:१५ को थियो । फोन त कति ट्राइ गरे गरे, लाग्दै लागेन । अब त वेटरले पनि कस्तो कस्तो नजरले हेरेको जस्तो लाग्न थाल्यो । मैले अनुभव गरेको असहजताको सिमा थिएन । घण्टा पनि युग जति भारी भो मलाई । आँखाको नुनिलो पानीले मुटु नै चहरायो । करिब बेलुकाको ५ बजेको हुदो हो, भ्यालिनटाइन डेको दिन अप्रिल फुल भएर क्याफेबाट निस्कने तरखर गर्दै थिए । मोबाइलमा ब्रेकिङ्ग न्युज एलर्टको घण्टी बज्यो ।
Advertisement 3
हेरे, “ पोखराबाट काठमाडौको लागि उडेको बुद्द एयरको बिमान अवतरण गर्ने क्रममा त्रिभुवन विमान स्थलमा दुर्घटना ग्रस्त, चालक दल सहित सम्पुर्ण यात्रीको मृत्यु ।” मेरो आखा अगाडी अन्धकार छायो । हात खुट्टा लुलो भएर अडिनै नसक्ने भइ भुइमा थचक्कै बसे । गहन पिडाले मुटु फुटेर मुखबाट निस्केला जस्तो भयो । नाक मुख सुकेर आयो । बिस्तारै शरिर छुट्दै गरेको अनुभव गरे मैले । अब सबैतिर सुन्य भयो । आँखा अगाडी उसको तेजले भरिएको अनुहार घुम्दै थियो । हराए बिलाए म उसको तेजको अगाडी । कसैले धेरै परबाट म्याडम म्याडम भनि बोलाएको जस्तो लाग्यो । मेरो होश बिस्तारै आयो । अघि रिसेप्सनमा बसेको वेटरले मेरो टाउकोमा पानी छर्दै बोलाउदै रहेछ । म बिस्तारै बोल्न कोशिश गर्दै थिए बोल्न पनि जिब्रोले साथ दिएन । दुख्ने मुटु भन्दा अरु कुनै अङ्ग मेरो शरिरमा छैन जस्तो प्रतित भो ।
एक महिला वेटर दौडदै चिच्याइ “ विजय सर आउनु भो म्याडम ।” को विजय ? कहाको विजय ? चेत नै आएन । उसैको पछि पछि मेरो प्राण आएको रहेछ । निलो सुट, आकाशे शर्ट, दाहिने हातमा रातो गुलाबले भरिएको बुके थियो । कल्पना हो कि भनि चिमोटे आफैलाई । सपना होइन, उ आएको साँचो रहेछ ।
मेरो छाती भित्र मुटु सररर पग्लियो । आँखाबाट अघि देखि थुनिएको खोला अबिरल बग्न लाग्यो । उसले काखमा लियो मलाई । एक क्षण त लाग्यो उसको काखमा यसरी नै पग्लिइरहु । खुम्चिएर उसलाई हेर्ने दुइ चक्षु मात्र भइदिउ । बिस्तारै भन्यो उसले “ मेरो फ्लाइट मिस भो जुनु, कारमा आएको पोखराबाट, सरी बेबी ढिलो भो ।”
भक्तपुर