तिमी र म

प्रेमको आँधीले बगैंचाको फूल हेरिरहेछ,
फक्रिन लागेको कलिलो मुना त उखेल्दैन ?
तिमी छौं त्यसैले त छ मेरो अस्तित्व,
डरलाग्छ जोडिएको मनको तार त चुंडिदैन
Advertisement 1
मलाई,
तिम्रो काखको बिछ्यौनामा
आकाशको बर्को ओडेर
निर्वन्ध निदाउन मन छ,
कतै,
किनारको पानीको झोकाले त बगाउँदैन ?
जसरी मिठो सपनालाई बिपनाले बगाउँछ !
म छोएर आफैलाई,
कसरी पाउँनु र तिमीलाई ?
चन्द्रमाले सूर्य नछोई,
कसरी प्रकाश पाउँछ ?
तिमी र म वीचको दूरी कसरी नापौ प्रिया,
जसरी फूलमा रंगहरु नाप्न सकिंदैन !
Advertisement 2
तिमी रंगहरुमा खुल्नु,
म रंगिन हुन्छु
तिमी पानी बन्नु,
म फिका हुन्छु,
अनि पो,
तिमी म हुनु जस्तो हुन्छ,
म तिमी भए जस्तो हुन्छ,
जसरी आकाशको आधार धर्ती हुन्छ,
धर्तीको छानो आकाश !
मेरो श्वासग्रन्थीका मिहिन कणहरु,
तिम्रा यादका अवयवहरुले जोडिएका छन् !
जसरी रतिका यादले कामदेव,
बृन्दाका यादले जालन्धर !
Advertisement 3
तिमी टाढिनु तिमी मात्र टाढा हुनु हैन माया
यो मनको चालले बिश्राम लिनु हो,
त्यसैले मलाई म बनाउ,
जसरी नदीले किनारालाई पनि आफ्नो बनाउँछ,
म नदीसंगै मिसिएको किनाराको माटो बन्न चाहान्छु
तिमीमा घुलेर तिमी बन्न चाहान्छु !!
(खतिवडा सडक डिभिजन काठमाडौंका इन्जिनियर हुन्)