अज्ञात कमरेडको बकपत्र

कोरोना नामको कहरले यत्र~तत्र/सर्वत्र
अनगिन्ती शरीर र आत्माहरु
एक शेष श्वास, एक मुट्ठी गाँस
र एक त्यान्द्रो आसको लागि
वैश्विक चोला भित्र
जीवन मरणको लागि
भयानक, दर्दर्नाक र कारुणिक संघर्ष गर्दै गर्दा
आज म मेरो आफ्नै नियति भन्न गइरहेको छु
Advertisement 1
प्रिय,मलाई युगपुरुष सम्झेर
देवत्वकरण गर्ने स्वार्थी कमरेडहरु,
तपाईंहरुकै कसम खाएर भन्छु
म जे बोल्नेछु, सत्य मात्र बोल्नेछु
सत्य भन्दा अरु बोल्ने
सामर्थ्य र हैसियत अब मलाई छैन ।
Advertisement 2
प्रिय
आफ्नो चरम स्वार्थको लागि
मलाई स्वाभिमानका सतिसाल मान्ने ढोँगी कमरेडहरु,
मैले मेरो जीवन अवधीमा
तपाईहरुको लागी के मात्रै गरिन ?
सुरुमा त म जन्मिए
र, म जन्मिनु नै यहाँहरुको परम अहोभाग्य हो, धन्य हुनुहोस् ।
जब म अलिकति जवान भए
गर्वसाथ भन्छु,
धरोधर्म ! आफ्नो लागि होईन
तपाईंहरुको लागि
यो समाजको अग्रगामी रुपान्तरणको लागि
सामन्ती किसानहरुको भौतिक सफाया नीति अन्तर्गत
बिद्रोहको शंखघोष गरे ।
Advertisement 3
राज्यले मेरो बिद्रोह बुझ्यो
र इनाम स्वरुप मैले मेरो सुकोमल यौवन
राज्यको सबैभन्दा सुरक्षित भूखण्ड
मेरै शब्दालङ्कारमा भन्दा
स्वतन्त्रता मापनको श्रेष्ठ परिधान
झ्यालखानामा बिताए ।
जब म त्यो महाविश्वविद्यालयबाट दीक्षित भएर निस्के
तब मैले देश र जनताको लागि
अझ कठोर बनेर राजनीतिमा होमिने निर्णय गरे ।
लगभग आधा सताब्दी भन्दा बढी
यो धन्दामा बित्नैलाग्दा
आज म
राज्यको प्रथम शक्तिशाली महानायकको रूपमा
यहाँहरु समक्ष उपस्थित भएर यो बकपत्र गर्दैछु ।
मेरा प्रिय एकलव्य कमरेडहरु,
मैले यो अवधिमा के मात्रै गरिन ?
गरिबीको उचाई नाप्न
खरबौं~खरब खर्च गरेर भ्यु टावर बनाए ।
चेतनाको स्तर नाप्न
मेरा कयौं महावाणीबाट नित्यप्रति दिव्य ज्ञान दिईरहे ।
विकास, सुख र समृद्धिको जग बसाल्न
कोटी जवानहरुलाई परदेश पठाए ।
महान् क्रान्तिकारी~राष्ट्रवादी बन्न
आफैंले सन्धि गरेर खुम्च्याएको भूमिलाई
नक्सामै भए पनि चुच्चे बनाए ।
यतिमात्र होईन,
सर्वहारा सफायाको ऋण पखाल्न
पशुपतिनाथमा सुनमय जलहरी चढाए ।
धर्मलाई अफिम मान्ने
मेरै परमपूज्य पितामह कार्ल माक्र्सको वैतरणी तरण गर्न
२१ औं शताब्दीको नयाँ रामराज्य स्वरुप
अयोध्या नै खडा गरिदिए ।
हे ईश्वर दया गरि भनि दे
मैले यो छोटो अवधिमा
यी दुर्बल मनुवाहरुको लागि के मात्र गरिन, सबथोक गरे ।
प्रिय, विवेकशून्य कमरेडहरु,
भौतिकवादका कुरा गरौं भने
म स्वयं जीवन्त दर्शन हुँ ।
अध्यात्मवादका कुरा गरौं भने
म स्वयं अनन्त ईश्वर हुँ ।
सांख्यवादको कुरा गरौं भने
म स्वयं पूर्णताको प्रतिबिम्ब हुँ ।
विज्ञानका कुरा गरौं भने
म स्वयं आविष्कारको सर्वनाम हुँ ।
ज्ञानका कुरा गरौं भने
म स्वयं शास्त्र सागर हुँ ।
चेतनाको कुरा गरौं भने
म स्वयं शुद्ध ब्रह्मको पुञ्ज हुँ ।
इतिहासको कुरा गरौं भने
म स्वयं प्रारम्भ हुँ ।
वर्तमानको कुरा गरौं भने
म स्वयं यथार्थ~प्रारब्ध हुँ ।
भविष्यको कुरा गरौं भने
म स्वयं अन्त्य हुँ ।
ब्रह्माण्डको कुरा गरौं भने
म स्वयं सृष्टिको गति हुँ ।
प्रकृतिको कुरा गरौं भने
म स्वयं पुरुष मात्र होईन, महापुरुष हुँ ।
प्रिय विद्वेषक कमरेडहरु,
यिनै शाश्वत~कर्कस कथा भित्र
मेरो वर्तमान स्वसत्यताको चरित्रचित्रण गर्दापनि
तपाईं मलाई चिन्नुहुन्न !
ॐ पूर्णमद: पूर्णमिदं पूर्णात् , पूर्ण मुदच्यते,
पूर्णस्य पूर्णमादाय, पूर्ण मेवा वशिष्यते
…जस्ता अनेकन ब्रह्मवाक्य लाई
बुर्जुवा~सामन्ती ज्ञान/शिक्षा करार गर्दै
आफ्नै जीवन, संस्कृति र सभ्यताको जननी
वैदिक सनातन वाङ्मय भित्र
आफैंलाई रुढीवादी देख्दै,
आफ्नै प्रिय
बुद्धको शान्तिपथका लागि
यत्र-तत्र-सर्बत्र
बलिको अपरिहार्यता खोज्दै गर्दा पनि
कहिँकतै
आफ्नो जडत्व नभेटेपछि
आफू पछाडि फर्किनुको विकल्प नदेखी
तपाईंका शब्द~श्र्लेषहरुलाई नै सापटी लिएर
‘अज्ञात कमरेड’ मेरो मौजुदा स्वशरीर परिचय सहित
आज म निरपेक्ष~निर्लज्ज~यथास्थितिवादी भएर भन्छु;
धरोधर्म तपाईं मलाई अझै चिन्न सक्नुहुन्न ।
किनकि,
मेरै यो छोटो जीवनमा
कयौं ऋतुहरु परिवर्तन भए
असंख्य रोगी, भोका र शोकाहरुको जिवांशा खरानी भएर गयो
तर,
बर्सौं पहिलेदेखिको मेरो
तपाईंहरुलाई दिग्भ्रमित पार्ने स्व~अभिमानको सतिसाल
आजसम्म पनि रत्तिभर डगमगाएको छैन ।
इति श्री अज्ञात देशे, सत्य स्विकारोक्ति पुराणे, चरित्रचित्रण खण्डे, अज्ञात कमरेड महात्मे, शून्य अध्याय: कथास्तुति समाप्तिम् ।