अर्बपति मन्त्री : करोडौंको शेयर, जग्गैजग्गा, घरैघर !

गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गत २९ जेठमा पोखरेल नेतृत्वमा नयाँ सरकार बनेको थियो ।

Advertisement 1

सार्वजनिक सम्पत्ति विवरणमा मुख्यमन्त्री पोखरेलले आफ्नो २५ लाख रुपैयाँ ऋण देखाएका छन् भने सबैभन्दा धनी मन्त्रीमा विन्दुकुमार थापा देखिएका छन् । थापाको सम्पति विवरण हेर्दा उनी अर्बपति मन्त्रीको रूपमा देखिएका हुन् । उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । गण्डकी प्रदेशका मन्त्रीले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा पनि अर्बपति हुन् । पोखराका घरजग्गा व्यवसायी थापाको पोखरा महानगरको प्राइम लोकेसन नयाँबजार, लेकसाइड र महेन्द्र पुलमा ६ वटा घर छन् । उनले करोडौं रुपैयाँ खर्चिएर नयाँबजारमै पुरानो शैलीको घर बनाएका छन् । थापाको पोखरामा ३ वटा होटल तथा रिसोर्ट र २ वटा ब्यापारिक भवन रहेका छन् । उनले पोखरामा पोखरा बुटिक होटल प्रालि, बगैंचा रिसोर्ट र रोयल हिमालयन रिसोर्ट प्रालि सञ्चालन गर्छन् । त्यस्तै सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर प्रालिलगायतका व्यापारिक भवन पनि उनकै नाममा छ । पोखराकै ठूलो मल मध्यमा पर्ने पोखरा ट्रेड मलमा पनि उनको लगानी छ ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापा विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । मेगा बैंकसँग मर्ज हुनु पहिले थापा पोखराको विश्व विकास बैंकका अध्यक्षसमेत थिए । थापा मेगा बैंकको संस्थापक शेयरधनी पनि हुन् । थापाको मेगा बैंकको ४ लाख, ६८ हजार ५६ कित्ता, सेन्चुरी कमर्सियल बैंकको ९१ हजार ३ सय ६७, सिद्धार्थ बैंकको ४३ हजार ७ सय ७८, लुम्बिनी विकास बैंकको ५० हजार ९ सय ९ कित्ता शेयर छ ।

Advertisement 2

यसैगरी मेगामै श्रीमती मनलक्ष्मी थापाको नाममा ५० हजार, राधा लक्ष्मी थापा क्षेत्रीको नाममा २७ हजार ३ सय ८१ र छोरा सौगात थापाको नाममा २६ हजार १ सय १६ कित्ता विभिन्न बैंकको शेयर छ । थापाले अधिकांश कारोबार श्रीमतीको नामबाट गर्ने गरेका छन् । उनको छोरा सौगात थापाको नाममा पनि व्यवसाय तथा जग्गा रहेको छ । सम्पत्ति विवरणमा थापाको पोखराका विभिन्न ठाउँमा १ सय १८ कित्ता जग्गा रहेको देखिएको छ ।

‘अटो मोबाइल र रियल स्टेट मेरो पुरानो व्यवसाय हो,’ मन्त्री थापाले भने, ‘मल बैंक, होटल, रिसोर्टमा लगानी गरेको छु ।’ थापाले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार ९० तोला सुन, १५ तोला हिरा र ५० तोला चाँदी उनीसँग छ । थापासँग २ करोड २५ लाख मूल्यका २ गाडी छन् । थापाले विभिन्न बैंकबाट करिब ३१ करोड रुपैयाँ ऋण लिएका छन् ।

Advertisement 3

राष्ट्र बैंकको जागिर छाडेर अटो क्षेत्र हुँदै रियल स्टेट र विभिन्न व्यवसायबाट प्रशस्त सम्पत्ति कमाएका थापा उद्योग वाणिज्य संघको अध्यक्षको कार्यकाल सकिएपछि २०७३ सालबाट नेपाली कांग्रेसमा सक्रियता बढाएका थिए । पोखरा महानगरपालिकाको मेयर दाबी गरेका थापाले प्रदेश सभाको टिकट हात पारेका थिए ।

 

प्रकाशित :२०७८ भाद्र १०, बिहीबार १५:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry