मनसुनका बेला सडक यात्रा गर्दा उच्च सतर्कता अपनाउन काठमाडौं प्रशासनको आग्रह, रातिको यात्रा सकेसम्म नगर्न सुझाव

काठमाडौं। मनसुन सक्रिय भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सडकमार्गबाट काठमाडौं उपत्यकामा आवतजावत गर्ने सबै सवारी चालक, सवारीधनी र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढेकाले यात्रा अघि विश्वसनीय सूचना लिएर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको हो।

Advertisement 1

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रबारे दिएको पूर्वसूचनालाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका सबै प्रवेश तथा बाहिरिने नाकाबाट यात्रा गर्नेहरूले विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख गरिएको छ।

रातिको यात्रा गर्दा थप सावधानी

Advertisement 2

प्रशासनले विगतका वर्षमा रातिको समयमा आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको स्मरण गराउँदै भारी वर्षाको सम्भावना भएका दिनमा रातिको यात्रा सकेसम्म नगर्न तथा अपरिहार्य अवस्थामा यात्रा गर्नुपरे अत्यधिक सावधानी अपनाउन आग्रह गरेको छ।

यात्रा सुरु गर्नुअघि सम्बन्धित राजमार्गको अवस्था, सडक अवरोध भए–नभएको तथा वैकल्पिक मार्गबारे जानकारी नेपाल प्रहरीबाट लिन पनि प्रशासनले अनुरोध गरेको छ।

Advertisement 3

सडक अवरुद्ध भए सुरक्षित स्थानमै बस्न आग्रह

सूचनामा बाढी वा पहिरोका कारण राजमार्ग अवरुद्ध भए यात्रु तथा सवारी साधनलाई जोखिमयुक्त स्थानमा अघि बढाउने प्रयास नगर्न र पूर्ण रूपमा सुरक्षित स्थानमा रोक्न आग्रह गरिएको छ।

यात्रुका लागि आवश्यक परे खाना, पानीलगायत आधारभूत व्यवस्थाको प्रबन्ध मिलाउन तथा प्रहरी प्रशासनले सडक सञ्चालन सुरक्षित भएको पुष्टि गरेपछि मात्रै यात्रा पुनः सुरु गर्न पनि सुझाव दिइएको छ।

आपत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क

कुनै पनि आपत्कालीन अवस्था वा सडकसम्बन्धी जानकारी आवश्यक परे निम्न टोल–फ्री नम्बरमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

नेपाल प्रहरी ः १००
ट्राफिक प्रहरी ः १०३
सशस्त्र प्रहरी बल ः १११४
काठमाडौं उपत्यका ट्राफिक सहायता ः १२३४

प्रशासनले मनसुन अवधिभर मौसमको अवस्था, सडकको वास्तविक जानकारी र सुरक्षा निकायको निर्देशनलाई पालना गर्दै मात्र यात्रा गर्न आग्रह गरेको छ। यात्रु, सवारी चालक र सम्बन्धित निकायबीचको समन्वयले सम्भावित दुर्घटना र मानवीय क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास प्रशासनले व्यक्त गरेको छ।

प्रकाशित :२०८३ श्रावण ३, आईतवार १०:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry