गुनासोपछि खाद्य उद्योगमा आकस्मिक अनुगमन: १ उद्योगको उत्पादन रोक्न निर्देशन, ३ उद्योगबाट नमुना संकलन

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त उपभोक्ता गुनासोका आधारमा ललितपुरका तीन खाद्य उद्योगमा आकस्मिक (¥यापिड रेस्पोन्स मोडालिटी) अनुगमन गरेको छ। अनुगमनका क्रममा एक उद्योगमा खाद्य स्वच्छतासम्बन्धी गम्भीर कमजोरी भेटिएपछि सुधार नगरेसम्म उत्पादन नगर्न निर्देशन दिइएको छ भने तीनै उद्योगबाट प्रयोगशाला परीक्षणका लागि खाद्य नमुना संकलन गरिएको छ।

Advertisement 1

विभागले २०८३ असार ३२ गते गरेको अनुगमनको विवरण सार्वजनिक गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरिएको जनाएको हो।

गुड लाइफ फूड प्रोडक्टमा गम्भीर कमजोरी

Advertisement 2

ललितपुर महानगरपालिका–२६ स्थित गुड लाइफ फूड प्रोडक्टमा उत्पादित कुकिज तथा बिस्कुटको गुणस्तरबारे प्राप्त उजुरीपछि गरिएको अनुगमनमा उद्योगको सरसफाइमा विभिन्न कमजोरी भेटिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा कीट नियन्त्रण (पेस्ट कन्ट्रोल) प्रभावकारी नभएको, उत्पादन कक्षका झ्याल–ढोका खुला राखेर प्रशोधन गरिएको, झ्यालमा जाली नरहेको, भुइँ, भित्ता र सिलिङको सरसफाइ पर्याप्त नभएको तथा कर्मचारीको व्यक्तिगत सरसफाइमा पनि कमी रहेको पाइएको छ।

Advertisement 3

यी कैफियतका आधारमा विभागले सुधार नगरेसम्म उत्पादन नगर्न, सात दिनभित्र सुधारको प्रमाणसहित विभागमा उपस्थित हुन तथा बिस्कुट र कुकिजको नमुना प्रयोगशाला परीक्षणका लागि उपलब्ध गराउन निर्देशन दिएको छ।

नाग्लो बेकरीजमा प्रारम्भिक रूपमा मापदण्डअनुसार

गोदावरी नगरपालिका–१४, ठैबस्थित नाग्लो बेकरीज प्रालिमा उत्पादित स्पेसियल नाग्लो पफमा प्रयोग हुने चिल्लो पदार्थको गुणस्तरबारे प्राप्त गुनासोको आधारमा गरिएको अनुगमनमा उद्योगले प्रयोग गरेको तेल तथा वनस्पति घिउ नेपाल सरकारले तोकेको मापदण्डभित्र रहेको पाइएको विभागले जनाएको छ।

त्यसैगरी कच्चा पदार्थ आधिकारिक स्रोतबाट खरिद गरिएको, उद्योगको सरसफाइ, पेस्ट कन्ट्रोल, प्रशोधन कक्ष तथा भण्डारण व्यवस्थापन सन्तोषजनक रहेको अनुगमन टोलीले उल्लेख गरेको छ।

यद्यपि थप पुष्टि गर्न उद्योगबाट उत्पादित पफको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ।

दक्षिणकाली दालमोठ उद्योगमा पनि नमुना परीक्षण

गोदावरी नगरपालिका–१ स्थित दक्षिणकाली दालमोठ उद्योगबाट उत्पादित दालमोठमा बाह्य पदार्थ भेटिएको भन्ने उजुरीपछि गरिएको अनुगमनमा प्रारम्भिक रूपमा त्यस्तो दाबी पुष्टि हुने आधार नभेटिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा प्रशोधन तथा प्याकिङ कक्ष, भण्डारण व्यवस्था र सरसफाइ सन्तोषजनक रहेको, प्रशोधनमा प्रयोग भएको तेलको त्एः (त्यतब िएयबिच ःबतभचष्बकि) नेपाल सरकारले तोकेको सीमाभित्र रहेको तथा दालमोठ परीक्षण गर्दा आँखाले देखिने कुनै बाह्य पदार्थ फेला नपरेको विभागले जनाएको छ।

तर, पेस्ट कन्ट्रोल प्रणाली अझ प्रभावकारी बनाउन, झ्याल–ढोकामा जाली जडान गर्न तथा खाद्य स्वच्छताको मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ। साथै थप अनुसन्धानका लागि दालमोठको नमुना पनि प्रयोगशाला परीक्षणमा पठाइएको छ।

विभागको चेतावनी ः गुनासो आए तत्काल अनुगमन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताबाट प्राप्त गुनासोलाई प्राथमिकतामा राख्दै आकस्मिक अनुगमनलाई निरन्तरता दिने जनाएको छ। विभागका अनुसार यसपटक अनुगमन गरिएका तीनवटै उद्योगबाट खाद्य नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको छ। परीक्षण प्रतिवेदनका आधारमा आवश्यक परे थप कानुनी कारबाही गरिने विभागले जनाएको छ।

विभागले सबै खाद्य उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र प्रचलित मापदण्डको पूर्ण पालना गर्न तथा उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन आग्रह गरेको छ।

प्रकाशित :२०८३ श्रावण ३, आईतवार १०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry