सातै प्रदेशमा सुविधा सम्पन्न बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सातै प्रदेशमा सुविधा सम्पन्न ‘बर्न’ (जलन) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
Advertisement 1
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्डलाई सुदृढ बनाउन आवश्यक योजना तत्काल कार्यान्वयनमा लैजान पनि निर्देशन दिएका हुन्।
प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले उपचार सेवाको पहुँच र गुणस्तर दुवैमा सुधार गर्नुपर्नेमा जोड दिए।
Advertisement 2
उनले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग तथा सुशासनको कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिए।
प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको उपचार पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरंग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए।
Advertisement 3
छलफलका क्रममा उनले एक स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट अभ्यासलाई अन्य संस्थाले पनि अनुकरण गर्नुपर्नेमा जोड दिँदै स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि अनुभव आदानप्रदान आवश्यक रहेको बताए। साथै, विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको समस्या सम्बन्धित निकायसँग समन्वय गरेर कानुनबमोजिम समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवद्र्धन, अस्पतालको सरसफाइ, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको डिजिटल रूपान्तरणका विषयमा प्रधानमन्त्रीसमक्ष सुझाव प्रस्तुत गरेका थिए।
उनीहरूले अस्पताल सूचना व्यवस्थापन प्रणाली (एचआईएस) को प्रभावकारी कार्यान्वयन, संस्थागत विकासमा देखिएका चुनौती तथा केही प्रतिष्ठानको जग्गा अतिक्रमणका कारण परेको असरबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. नारायणसिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी थिए।








