आत्मिक अनुशासन र मानवीय चरित्र

समाज शान्ति खोज्छ। तर समाजको मूल आधार व्यक्ति हो। अशान्त व्यक्ति मिलेर स्थिर समाज जन्मँदैन। शान्त अन्तर्मनले मात्र सहअस्तित्व सम्भव हुन्छ। त्यसैले, समाज सुधारको बाटो व्यक्ति–सुधार हो। व्यक्ति सुधारको बाटो अन्तर्मनको शुद्धि हो।हिन्दू योगले ध्यानमार्फत अन्तर्मनलाई निखार्छ। बौद्ध दर्शनले करुणा र माया मार्फत आत्मालाई पवित्र बनाउँछ। यी परम्पराहरू फरक देखिए पनि उद्देश्य एउटै छ— चेतनाको शुद्धि।

Advertisement 1

शुद्ध चेतनाले द्वेषलाई भङ्ग गर्छ। यसले मानिसलाई ‘म’ बाट ‘हामी’ तर्फ डोर्याउँछ। जब आत्माले भिन्नताको पर्दा हटाउँछ, तब सामाजिक मेलमिलाप जन्मिन्छ। जात, धर्म, भाषा, पद— यी सबै कृत्रिम भित्ताहरू भत्किन्छन्। शुद्ध आत्मा केवल मानवताको भाषा बोल्छ।सामाजिक सद्भाव कुनै व्यवस्थाले मात्र ल्याउन सक्दैन। कानुनले दण्ड दिन सक्छ, तर प्रेम जन्माउन सक्दैन। प्रेम र भाईचारो अन्तर्मनको उज्यालोबाट मात्र जन्मिन्छ।

अध्यात्मिक अभ्यासहरू जस्तै योग, ध्यान, प्रार्थना र आत्मचिन्तन— यी आत्मिक औषधिहरू हुन्। यसले मनलाई शान्त गर्छ। शरीरलाई स्वस्थ बनाउँछ। चेतनालाई बल दिन्छ। यसले जीवनलाई सन्तुलित बनाउँछ।अध्यात्मले मानवलाई भयबाट मुक्त गर्छ। धर्मले ‘पाप गर्छौ भने दण्ड भोग्छौ’ भन्छ। तर अध्यात्म भन्छ— ‘सद्गुणमा आकर्षित हो, तब दण्डको भय नै रहँदैन।’ धर्म नियमन हो। अध्यात्म आत्म–जागरण हो।

Advertisement 2

संस्कार र आचरण पनि अन्तर्मनसँग गाँसिएका छन्। शुद्ध अन्तर्मनले असल संस्कार जन्माउँछ। असल संस्कारले सद्व्यवहार जन्माउँछ। सद्व्यवहारले समाजलाई नैतिक र स्थिर बनाउँछ। यसरी, अध्यात्म, अन्तर्मन र समाज एउटै शृङ्खलाका कडिहरू हुन्।सत्य के हो भने, बाह्य व्यवस्था सुधार्नुअघि भित्री व्यवस्था सुधार्नुपर्छ। यदि अन्तर्मन असन्तुलित छ भने, बाह्य सुधार असफल हुन्छ। तर अन्तर्मन शुद्ध भयो भने, समाज स्वतः शुद्ध हुन्छ।
अध्यात्म बिना जीवन अधुरो हुन्छ। अन्तर्मन शुद्ध बिना समाज अस्थिर हुन्छ। शुद्ध चेतनाले मात्र करुणा, समानता र सद्भाव जन्माउँछ। त्यसैले, अध्यात्म मार्गले आत्म–परिष्कार गरौं। आत्म–परिष्कारले सामाजिक सहअस्तित्व सुनिश्चित गर्छ। यही नै दिगो समाज निर्माणको शाश्वत सूत्र हो।

अध्यात्म जीवनको आभूषण हो। यसले मानिसलाई भित्री संसारसँग भेट गराउँछ। बाहिरका आडम्बरहरू क्षणभंगुर हुन्, तर अन्तर्मनको सत्य चिरन्तन हुन्छ।अध्यात्म कर्मकाण्ड होइन। यो आत्म–अन्वेषणको बाटो हो। ऋषि–मनीषीहरूले यसलाई सत्य, आत्मा र परमात्माको सन्देशका रूपमा व्याख्या गरेका छन्। अध्यात्मले भन्छ— आत्मालाई शुद्ध गर, चेतनालाई जागृत गर, अनि मात्र जीवन अर्थपूर्ण हुन्छ।शुद्ध अन्तर्मन अहंकार, ईर्ष्या, क्रोध र लोभबाट मुक्त हुन्छ। यस्ता विकृतिहरूले चेतनालाई प्रदूषित गर्छन्। जब चेतना मलिन हुन्छ, व्यवहार असन्तुलित हुन्छ। जब चेतना शुद्ध हुन्छ, व्यवहार करुणामय हुन्छ।मानव जीवनको लक्ष्य बाहिरी सम्पत्ति होइन। यो आन्तरिक सम्पत्ति हो। विवेक, धैर्य, करुणा र सहिष्णुता— यी नै अमूल्य सम्पत्ति हुन्। यिनको उदय अन्तर्मनको शुद्धताबाट मात्र सम्भव हुन्छ।

Advertisement 3

मानव जीवनको गरिमा यसको वास्तविक मूल्य आत्मिक अनुशासन र मानवीय चरित्रमा निहित हुन्छ। आत्मिक अनुशासन भन्नाले व्यक्तिले आफ्नो अन्तरमनलाई संयमित, शुद्ध र सजग राख्ने अभ्यासलाई जनाउँछ। जब व्यक्ति आफ्ना विचार, भावना र व्यवहारलाई विवेकको आधारमा नियन्त्रित गर्न सिक्छ, तब उसको चरित्र क्रमशः परिपक्व बन्दै जान्छ। यही परिपक्वता नै साँचो मानवताको पहिचान हो।

आत्मिक अनुशासनले अहंकार, क्रोध, लोभ र ईर्ष्या जस्ता नकारात्मक प्रवृत्तिलाई नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ। यस्ता प्रवृत्तिहरू अनियन्त्रित हुँदा व्यक्ति मात्र होइन, समाजमा पनि द्वन्द्व र असन्तुलन सिर्जना हुन्छ। तर जब व्यक्तिले आत्म–परीक्षण, धैर्य, सहिष्णुता र करुणाको अभ्यास गर्छ, तब उसको व्यवहार सन्तुलित र जिम्मेवार बन्छ। आत्मिक अनुशासनले निर्णय प्रक्रियामा स्पष्टता ल्याउँछ र सही–गलतको विवेकलाई सशक्त बनाउँछ।

मानवीय चरित्र समाजको आधार हो। चरित्रवान व्यक्ति विश्वसनीय, उत्तरदायी र न्यायप्रिय हुन्छ। उसले व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिन्छ। परिवार, शिक्षा र सामाजिक संस्कारले आत्मिक अनुशासनको विकासमा महत्वपूर्ण भूमिका खेल्छन्। यदि बाल्यकालदेखि नै नैतिक मूल्य, सहानुभूति र आत्मसंयमको शिक्षा दिइयो भने, समाजमा सकारात्मक र स्थिर वातावरण निर्माण हुन सक्छ।

आत्मिक अनुशासन बिना मानवीय चरित्र अधूरो रहन्छ। बाह्य सफलताले क्षणिक सन्तोष दिन सक्छ, तर आन्तरिक शान्ति र गरिमा आत्मिक स्थिरताबाट मात्र सम्भव हुन्छ। जब व्यक्तिको अन्तर्मन अनुशासित र शुद्ध हुन्छ, तब उसले आफू मात्र होइन, समग्र समाजलाई पनि उज्यालो बनाउने सामर्थ्य प्राप्त गर्छ। यही आत्मिक अनुशासन नै सभ्य, सन्तुलित र करुणामय समाज निर्माणको मूल आधार हो।

मानवीय सहअस्तित्वको आधार परस्पर विश्वास हो। विश्वास तब मात्र जन्मिन्छ जब हामीभित्र कपट, लोभ वा स्वार्थको छाया छैन। यदि अन्तरात्मा असत्यले आच्छादित छ भने, सम्बन्धमा विश्वास टिक्दैन। त्यसैले, आत्मिक परिष्कारलाई सामाजिक सद्भावको जरुरी पूर्वशर्त भन्न सकिन्छ। आत्मा निर्मल भयो भने समाजमा समरसता स्वाभाविक रूपमा बग्छ।

आज विश्व असन्तुलन, द्वन्द्व र संघर्षले आक्रान्त छ। राष्ट्रहरूबीच युद्ध, समुदायबीच घृणा र परिवारभित्रै कलह देखिन्छ। यसको मूल कारण बाहिरी कारण मात्र होइन, भित्री प्रदूषण हो। जब प्रत्येक व्यक्तिले आफ्नै आत्मालाई अनुशासित गर्ने, लोभ–मोहको बन्धन चिर्ने र सत्यलाई आत्मसात् गर्ने अभ्यास गर्छ, तब समाज स्वतः शान्त हुन्छ।

आत्मिक परिष्कारले मानिसलाई “म” बाट “हामी” तर्फ डोर्याउँछ। यसले सानो घेराबाट ठूलो परिवारको बोध गराउँछ। सहअस्तित्व भनेको केवल सहनशीलता होइन, गहिरो स्तरमा आत्मीयता हो। जसले अर्कोको पीडालाई आफ्नै पीडाजस्तै महसुस गर्छ, उसले मात्र सहअस्तित्वलाई जीवन्त पार्न सक्छ।यसरी, आत्मिक परिष्कार बिना सहअस्तित्व सम्भव छैन। समाजले चाहेको वास्तविक शान्ति, सद्भाव र सामूहिक समृद्धि बाह्य व्यवस्थाबाट होइन, अन्तरमनको जागरणबाट आउँछ। आत्मा उज्यालो भयो भने समाजमा घृणाको अन्धकार टिक्दैन। चेतना स्वच्छ भयो भने सभ्यताको आधार बलियो हुन्छ। त्यसैले, आत्मिक परिष्कारलाई व्यक्तिगत मात्र होइन, सामूहिक उद्धारको मूल आधार मान्नुपर्छ।

अध्यात्मिक अभ्यासले मानिसलाई आफ्नो भित्री स्वभावलाई चिनेर सुधार्न र आफू मात्र होइन, अरूको जीवनमा पनि सकारात्मक प्रभाव पार्न सक्षम बनाउँछ। यसले हाम्रो दैनिक जीवनलाई मात्र होइन, सम्पूर्ण समाज र राष्ट्रलाई नै उज्यालो बनाउने सामर्थ्य राख्दछ। त्यसैले, अन्तर्मनको शुद्धिकरण र सामाजिक सद्भावलाई मानव जीवन र विकासको अभिन्न अङ्गको रूपमा लिन आवश्यक छ।

जीवनको वास्तविक यात्रा बाहिरी उपलब्धिमा मात्र सीमित हुँदैन। बाह्य सफलता, सम्पत्ति र नामले क्षणिक सन्तुष्टि त दिन सक्छ तर आत्मा त अझ गहिरो अर्थ खोजिरहेको हुन्छ। जब मानिस आफ्नो अन्तरमनलाई निखार्न थाल्छ, त्यतिबेलामात्र आत्मिक परिष्कारको द्वार खुल्छ। आत्मा शुद्ध भए समाज शान्त हुन्छ। आत्मा दूषित भए, सभ्यता नै असन्तुलित हुन्छ।आत्मिक परिष्कारले नै मानिसलाई मानव बनाउँछ। यसले उसको चेतनालाई उदात्त बनाउँछ र उसको जीवनलाई समर्पण र सेवा तर्फ मोड्छ। यही परिष्कृत आत्माले मानवीय सहअस्तित्वलाई सम्भव बनाउँछ। जब प्रत्येक आत्मा निर्मल हुन्छ, तब मात्र विश्वमा वास्तविक शान्ति र सद्भाव स्थापित हुन्छ।प्रकृति, ईश्वर र मानव जीवनको अनसुल्झिएको रहस्यलाई समाधान गर्ने तत्व नै अध्यात्म ज्ञान हो।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् )

 

 

 

 

प्रकाशित :२०८२ फाल्गुन ३, आईतवार १२:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry