बाँकेमा ५ लाख बिरुवा वितरण

बाँके। डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ३० प्रजातिका ५ लाख १३ हजार बिरुवा वितरण गरेको छ। सो अवधिमा कार्यालयले ५ लाख ६१ हजार बिरुवा उत्पादन गरेको थियो।
Advertisement 1
वितरण गरिएका बिरुवामध्ये ४ लाखभन्दा बढी एकवर्षीय र १ लाख ३४ हजार बहुवर्षीय प्रजातिका रहेका डिभिजन वन कार्यालयका योजना शाखाका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिए। ती बिरुवा कृषकका निजी जग्गा, सामुदायिक वन, सडक किनार, धार्मिक स्थल तथा सार्वजनिक क्षेत्रमा हरियाली विस्तार, वातावरणीय सुधार र आयआर्जन प्रवद्र्धनका उद्देश्यले वितरण गरिएको उनले बताए। पछिल्ला वर्षमा बाँकेमा निजी जग्गामा बिरुवा रोप्ने क्रम बढ्दै गएको छ।
“जानकी गाउँपालिकामा वनक्षेत्र छैन, खजुरा र बैजनाथमा पनि वनक्षेत्र न्यून रहेको छ। यस्तो अवस्थामा दाउरा, काठ र हरियालीको आवश्यकता निजी तथा सार्वजनिक जग्गाबाटै पूर्ति गर्नुपर्ने अवस्था सिर्जना भएको छ,” वरिष्ठ वन अधिकृत सुवेदीले बताए। कृषकले निजी खेतबारीमा रुख रोप्नुको मुख्य कारण छिटो प्रतिफल प्राप्त हुनु, घरेलु आवश्यकताको पूर्ति हुनु र बिक्रीबाट आम्दानीको अवसर हुनु रहेको उनको भनाइ छ।
Advertisement 2
“कृषक छिटो आम्दानी दिने प्रजातितर्फ आकर्षित देखिएका छन्, यसबाट ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुगेको छ”, वरिष्ठ वन अधिकृत सुवेदीले भने। उनका अनुसार एकवर्षीय बिरुवातर्फ सागवान, युकालिप्टस र खयरको माग बढी छ भने बहुवर्षीय प्रजातितर्फ श्रीखण्ड, कल्कीफुल, ज्याकराण्डा, गुलमोहर, धुपी र जामुनका बिरुवा उत्पादन गरिएका छन्। कृषकले सागवान र युकालिप्टसजस्ता छिटो बढ्ने प्रजातिका बिरुवा रोज्ने गरेका छन्।
नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र कोहलपुर नगरपालिका आसपासका क्षेत्रमा भेनियर उद्योग, प्लाइउड उद्योग, इट्टा उद्योग तथा जडिबुटी प्रशोधन उद्योगमा काठ र दाउराको खपत बढी रहेकाले निजी खेतमा लगाइएका रुखको माग बढ्दै गएको छ। “यस्ता बिरुवाबाट उत्पादन भएको काठ उद्योगमा कच्चा पदार्थका रूपमा प्रयोग हुँदा कृषकको आम्दानी बढ्नुका साथै वनक्षेत्रमा पर्ने मानवीय चाप घटाउन सहयोग पुगेको छ”, उनले भने।
Advertisement 3
साथै प्राकृतिक वन पुनस्र्थापना र जैविक विविधता संरक्षणका लागि साल, महुवा, खयर र सिसौजस्ता स्थानीय प्रजातिको उत्पादन तथा रोपणमा प्राथमिकता दिइँदै आएको छ। “बजारको माग र वातावरणीय सन्तुलन दुवैलाई ध्यानमा राखेर प्रजाति छनोट गरिएको छ”, वरिष्ठ वन अधिकृत सुवेदीले भने।
कार्यालयका अनुसार कोहलपुर, मेहनमानपुर, अगैया, शम्शेरगञ्ज, नरैनापुर तथा केन्द्रीय नर्सरीमार्फत जिल्लाका विभिन्न पालिकामा बिरुवा वितरण हुँदै आएको छ। यस वर्ष ६ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ जिल्लाका ८ नर्सरीमा पोलिब्यागमा माटो भर्ने, ब्याड व्यवस्थापन, नर्सरी मर्मत तथा बिरुवाको गुणस्तर सुधारका कार्य तीव्र रूपमा अघि बढाइएको कार्यालयले जनाएको छ। यसबाट बिरुवा उत्पादन र नर्सरी व्यवस्थापनमा स्थानीय महिलाको उल्लेखनीय सहभागिताले रोजगारी सिर्जना, सीप विकास र आत्मनिर्भरता प्रवद्र्धनमा समेत योगदान पुगेको छ।














