नार्कका कर्मचारी आन्दोलनमा

काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का कर्मचारी आन्दोलनमा उत्रिएका छन्। तलबमा विभेद गरिएको भन्दै नार्कका कर्मचारीहरुले बुधबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्दको घोषणा गरेका छन्।
Advertisement 1
उनीहरुले पशुपन्छी तथा माछाको दानापानी, बालीनालीमा सिंचाइ, मलखाद तथा औषधि उपचार बाहेकका सबै काम बुधबारदेखि बन्द गर्ने बताएका छन्। आन्दोलनस्वरुप उनीहरुले बुधबार नार्कका निमित्त कार्यकारी निर्देशक बोजराज खनालको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
तलबसम्बन्धी रिटमा उच्च अदालत पाटनले समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन गराउन परमादेश जारी गरे पनि नार्क व्यवस्थापनले कार्यान्वयनमा नल्याएको कर्मचारीको आरोप छ। कर्मचारीले आफ्ना माग सम्बोधन नभएमा केन्द्रीय कार्यालयमा तालाबन्दी, अन्य कार्यालयमा पेन डाउन, कार्यकालका चार पांग्रे गाडी प्रयोगमा निषेध लगायतका आन्दोलन गर्ने तयारी गरेका छन्। सातै निमित्त कार्यकारी निर्देशकले राजीनामा दिनुपर्ने माग पनि कर्मचारीले गरेका छन्।