नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं। नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै अब एनसेलका ‘बीटुबी’ तथा ‘बीटुसी’ ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवेमार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन्।
Advertisement 1
नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एपमार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन्। नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जाबर केयोमोवले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
नबिल बैंकका सीईओ ढुंगानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले दुई संस्थाबीचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने बताए। एनसेलका सीईओ केयोमोवले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताए। अब एनसेलका ग्राहकले नबिलको पीओस पेमेन्ट गेटवे र एनबैंक गरी तीनवटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्नेछन्।