कार्यकारी निर्देशकहरुको विभाग हेरफेर,युवराज खतिवडाका ज्वाइँ फेरि ‘पुरस्कृत’
नेपाल राष्ट्र बैंकले ९ जना कार्यकारी निर्देशकको विभाग हेरफेर गरेको छ ।
Advertisement 1
सरकारले राष्ट्र बैंकमा रिक्त रहेका दुई जना डेपुटी गभर्नरको नियुक्ति गरेर उनीहरुले कार्यभार सम्हालेपछि राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको विभाग हेरपफेर गरेको हो ।राष्ट्र ऋण व्यवस्थापन विभागमा बैंकिङ्ग विभागका नरेश शाक्य र विदेशी विनिमय विभागमा जनशक्ति व्यवस्थापन विभागका रामु पौडेललाई लगिएको छ । यसअघि केन्द्रीय बैंक मातहतको वित्तीय जानकारी इकाइ (फाइनान्सियल इन्टिलिजेन्स युनिट) मा समेत रहेर काम गरिसकेका पौडेलको विदेशी विनिमय विभागका लागि उपयुक्त पदस्थापन हो ।
अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टलाई बैंक सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ । अर्थमन्त्रालयमा काजमा रहेका लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठलाई अनुसन्धान विभागको कार्यकारी निर्देशकमा पदस्थापन गरिएको छ । तर, श्रेष्ठ अर्थमन्त्रालयमा काजमा रहेकाले वरिष्ठ निर्देशकका रूपमा रामशरण खरेलले अनुसन्धान विभागको कायममुकाय प्रमुखको रूपमा काम गर्नेछन् ।
Advertisement 2
खरेल पूर्व अर्थमन्त्री युवराज खतिवडाका छोरीज्वाइँ हुन् । श्रेष्ठ अर्थमन्त्रालयमा रहँदासम्म कायम मुकायम प्रमुखको रूपमा काम गर्नेगरी केन्द्रीय बैंकको ‘ब्रेन’ (मष्तिस्क) मानिने अनुसन्धान विभागमा खरेललाई राखेर गभर्नर महाप्रसाद अधिकारीले खतिवडाले गभर्नरमा सिफारिश गरेको गुन तिरेको चर्चा राष्ट्र बैंकभित्र छ । भट्टलाई बैंक सुपरिवेक्षणको जिम्मेवारी दिएपछि त्यहाँका मुकुन्द क्षेत्रीलाई वित्त व्यवस्थापन विभागमा सुरुवा गरिएको छ । विकास बैंक सुपरिवेक्षण विभागका ऋषिकेश भट्टलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको प्रमुख बनाइएको छ । वित्त व्यवस्थापन विभागका प्रदीपराज पौडेललाई भने विकास बैंक सुपरिवेक्षण विभागमा लगिएको छ ।
प्रकाशकुमार श्रेष्ठलाई अनुसन्धान विभागमा लगेपछि उनको ठाउँमा यसअघि सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका सुमनकुमार अधिकारी आएका छन् । संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका रामबहादुर मानन्धरलाई बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभागका दयाराम शर्मा पङ्गेनीलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पदस्थापन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
Advertisement 3
खतिवडाका ज्वाइँ ‘पुरस्कृत’
कार्यकारी निर्देशकको व्यापक सरुवाबाट निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाइँ पुरस्कृत भएका छन् । हाल कनिष्ठ निर्देशक रहेका खरेललाई अप्रत्यक्ष रुपमा अनुसन्धान विभागको कायम मुकायम हुनेगरी व्यवस्था मिलाइएको छ । अहिले अनुसन्धान विभागमा सरुवा गरिएका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ काजमा छन् । अर्थमन्त्रीमा विष्णु पौडेल रहेसम्म उनी फिर्ता हुने छैनन् । डा. श्रेष्ठले तत्कालै मन्त्रालयबाट फिर्ता हुने योजना नभएको बताए । ‘यहाँबाट बिदा भएपछि मेरो जाने ठाउँ त राष्ट्र बैंक नै हो । तर, अहिले नै फर्किन लागेको भने होइन,’ कार्यकारी निर्देशक श्रेष्ठले भने ।