११ महिना हुन लाग्यो प्रधानमन्त्री भइराखिएकै छः प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनाभन्दा बढी प्रधानमन्त्री हुन नसक्ने साथीहरूले बताए पनि आफू १० महिनादेखि प्रधानमन्त्री भइरहेको बताएका छन्।
Advertisement 1
‘सबैभन्दा थौरै समय प्रधानमन्त्री अटल बिहारी बाजपेयी १३ दिन भएका रहेछन्। १३ दिनमै छाड्न परेको रहेछ,’ शुक्रबार तनहुँको आँबुखैरेनी अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘कोही १५ दिन, कोही २० दिन प्रधानमन्त्री बनेका रहेछन्। साथीहरू भन्थे- एक महिनाभन्दा बढी तेरो जाँदैन। ठिकै छ, एक महिना राम्रो काम गर्ने कोसिस गर्छु, गर्दा गर्दै छाड्नु परेछ भने जनतामा जान्छु भनेको थिएँ। भन्दै जाँदा अहिले १० महिना, अब ११ महिना हुन लागिसक्यो, बाँचिराखिएको छ, प्रधानमन्त्री भइराखिएको छ।’
उनले अझै राम्रो काम गर्न आफूले खोजिरहेको बताए। प्रधानमन्त्री दाहालले संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै सङ्घीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने उल्लेख गरे । उनले भने, “सङ्घीयताको बारेमा अरुले भन्दा मैले बढी बुझेको छु भन्ने मेरो दाबी छ । सङ्घीयतालाई बलियो बनाउनेतर्फ म क्रियाशील छु ।”
Advertisement 2
प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको बताउँदै प्रधानमन्त्री दाहालले भने, “यी ऐन भए मात्रै प्रदेश सरकार बलियो हुन्छ, नत्र बलियो हुँदैन । प्रदेश सरकार भएको अनुभूति जनतालाई दिलाउन सकिएन भने प्रदेशको महत्वबारे बुझाउन सकिँदैन ।”
प्रधानमन्त्री दाहालले तीनवटै ऐन कार्यान्वयनमा आउने उल्लेख गरे । गएको तीन चारदिनदेखि प्रहरीसँग, गृह मन्त्रालयसँग छलफलमा रहेको बताउँदै उहाँले केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने दाबी गरे । सङ्घीय निजामती ऐन बनिसकेको बताउँदै प्रधानमन्त्री दाहालले उक्त ऐन पनि कार्यान्वयनमा आउने स्पष्ट पारे । उनले सिंहदरबार जनताको घरदैलोमा आएको अनुभूति दिलाउने विश्वास दिलाउँदै स्वास्थ्य, शिक्षाका बारेमा सरकार प्रतिबद्ध रहेको बताए ।
Advertisement 3
कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्ले, २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीलगायतले आँबुखैरेनी विकासको अभियानमा अगाडि बढेको बताए। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरेको बताए । सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री दाहालले आज उद्घाटन गरेका हुन् । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालको रुपमा सेवा सुरु गरेको थियो ।
अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा सुरु गरिएको छ । अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको अध्यक्ष चुमानले जानकारी दिए।