नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ ।
Advertisement 1
जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गरेको विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरुमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।
स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गरेको छ ।
Advertisement 2
जिल्ला प्रशासन कार्यालयले सद्भावको सहरका रुपमा रहेको नेपालगञ्जको गरिमालाई कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, आम नागरिकले आफ्ना क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्याउनसमेत आग्रह गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले रासससँग कुरा गर्दै सबै पक्षसँग संवादका लागि प्रक्रिया थालिएको तर बैठक बस्ने समय भने निश्चित नभएको जानकारी दिए ।
Advertisement 3
उनले निषेधाज्ञामा कडाइ गरिएको उल्लेख गर्दै भारतबाट जमुनाह नाका हुँदै नेपाल आउने नागरिकलाई गन्तव्यसम्म पुर्याउन थालिएको जानकारी दिए ।
प्रहरी चौकी जमुनाहाका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले अहिलेसम्म एक हजार पाँच सय नेपालीलाई गन्तव्यमा पुर्याइएको जानकारी दिए । उनले भारतको सिम्ला, कालापहाड, दिल्ली लगायतका ठाउँबाट दशैँ मनाउन घर फर्केका नागरिकलाई राँझाचोकसम्म पुर्याइएको र त्यहाँबाट नागरिकहरु गन्तव्यमा पुगिरहेका पनि बताए ।