सबैलाई मिलोस्, एउटै परिवारमा यति ठूलो सफलता

यो दुनियाँ नै जित्नेहरूको हो, जित्नेहरूकै लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ, इतिहासको पानामा ? कसैले हिसाब राख्दैन तिनको, कसैले भाउ दिँदैनन्, कसैले खोज्दैनन् हार्नेहरूलाई ।
अक्सर हामी एक÷दुईवटा असफलताबाटै निराश हुन्छौं र मोड्छौं जीवनको बाटो । तर, जीवनका परीक्षामा सफल हुन पटक–पटक पौँठेजोरी खेल्नैपर्छ असफलतासँग ।
धेरैको रहर हुन्छ निजामती सेवामा प्रवेश गर्ने । तर, यो अवसर सबैका लागि कहाँ जुर्छ र ? निष्ठापूर्वक सेवा र कठिन परिश्रम गर्दै गएको खण्डमा पद र प्रतिष्ठा खोज्दै जानु पनि पर्दैन । मात्र हुनुपर्छ दृढ इच्छाशक्ति र संकल्प हुनुपर्छ मनमा । असम्भव केही छैन दुनियाँमा । हालै मात्र एकाघरका दाजुभाइ र दिदीबहिनीले निजामती सेवामा रेकर्ड ब्रेक गरेका छन् । यसरी नयाँ रकेर्ड कायम गराउन सफल दाजु भाइ र दिदी–बहिनी हुन् क्रमशः भोजपुरका दिनेश–दीपेश खनाल र कञ्चनपुरका पार्वती–बसन्ती भट्टले । यिनले एकै पटक शाखा अधिकृतमा नाम निकाले र एकै पटक पदस्थापन भए पनि । सर्वाेच्च अदालतका न्यायधीशहरू आनन्दमोहन भट्टराई, सपना मल्ल प्रधान र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले लोकसेवाले लामो समयदेखि स्थगन गरिराखेको शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै १६ माघमा नतिजा सार्वजनिक भएको थियो । ४८५ जना शाखा अधिकृतमा उत्तीर्ण हुँदा स्याङ्जाबाट मात्र ३४ जना थिए भने कञ्चनपुर जिल्लाबाट १० र भोजपुर जिल्लाबाट ८ जना शाखा अधिकृत बन्न सफल भए ।
भोजपुरको एउटा दुर्गम गाउँ, हालको अरुण गाउँपालिका–२ मा जन्मिएका हुन् खनाल बन्धु । पिता गिरिराज र माता तुलसाको कोखबाट । बुवा पेशाले शिक्षक, पिताकै पदचाप पछ्याउँदै सरकारी सेवामा प्रवेश गरे । निकै कष्टसाथ अध्ययन भयो । एसएलसीसम्मको शिक्षा गाउँकै सरकारी स्कूलबाट भएको हो । मान्छेहरू सरकारी विद्यालयलाई हेलाँ गर्छन्, तर त्यही विद्यालयबाट पढेका दुई भाइ र दुई बहिनी अहिले सबै सरकारी सेवामै छन् । सपरिवार सरकारी सेवामा लाग्नुको पछाडि आमाको ठूलो प्रेरणा छ ।
प्लस टुपछि गाउँकै विद्यालयमा केही समय पढाए र ०७२ सालमा लोकसेवा भिडेका हुन् । भन्छन्, जीवन नियममा होइन संयोगमा हुन्छ । त्यतिखेर उनले काठमाडौंबाट लोकसेवा भिडे । जेठी बहिनीले धनकुटाबाट । संयोग एकै पटक दिनेश र कल्पनाले सुब्बामा नाम निकाले । बहिनी कल्पना अहिले नेपाल ट्रष्टको कार्यालय पोखरामा छिन् । त्यसको वर्षदिनपछि भाइ दीपेश र कान्छी बहिनीले एकै पटक नाम निकालेका थिए र त्यही संयोग ५ वर्षपछि दोहारिएको छ । दिनेशले सामान्य प्रशासन समूह र भाइ दीपेश भने राजश्व समूहबाट शाखा अधिकृतमा नाम निकाल्न सफल भएका हुन् । दीपेश भने आठ नम्बर (टप टेनभित्र) परेका छन् ।

Advertisement 1

दाजु-बहिनी नै सचिव, परिवारका सबै सरकारी सेवामा :: सन्जिब बगाले :: Setopati

अक्सर मान्छेहरू सफलतालाई मात्र देख्छन् तर सफलता प्राप्त गर्नका लागि गरिएको संघर्ष देख्दैनन् । संघर्षको भट्टीमा खारिएर दुःखका आरनमा अर्चापिएर शाखा अधिकृतसम्मको बाटो तय गर्न सफल भएका हुन् यिनले । लगातार नदीको बहावले ठुल्ठूला चट्टानलाई पनि पगाल्छ भनेझैं शाखा अधिकृत बन्न कम्ता पापड पेलेका हैनन् । जागिरे जीवनको सिलसिलामा अहिले लेखापाल हुन् दिनेश । शाखा अधिकृतमा बढुवा भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा राखेका कारण पदस्थापन हुन बाँकी छ । जागिरे जीवनको सिलसिलामा जिल्ला निर्वाचन कार्यालय दोलखामा दुई वर्ष बिताए । त्यहाँबाट मलेनिकामा केही समय रहे । भाइ दीपेश लोकसेवा भिडे ०७३ वैशाखमा १८ वर्षकै उमेरमा । समाजकल्याण परिषद्तिर चौथो तहको परीक्षामा पहिलो नम्बरमा नाम निकाल्न सफल भए उनी । संयोग एकै समय बहिनीले शिक्षा सेवाअन्तर्गत शिक्षकमा नाम निकाल्न सफल भइन् । पढाइमा अब्बल र तीक्ष्ण बुद्धिको भाइले ७६ प्रतिशत अंक ल्याएर एसएलसी पार लगायो । प्लसटुमा विज्ञान विषय लिएर पढ्यो । बानेश्वरमा अवस्थित एम्बिसन एकेडेमीबाट डिस्टिंसन र स्नातक तहमा समेत राम्रै अंक ल्याएर पार लगाएको हो । भाइको पनि पदस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा भएको छ । पिता सरकारी शिक्षक हुन् ।

Advertisement 2

कान्छी बहिनी करुणा निमावि स्थायी शिक्षक छिन् । उनले पनि मध्यमाञ्चलबाट खुलातर्फ नाम निकालेकी हुन् । हाल मकवानपुरको सिस्नेरीमा पढाउँछिन् । ६ वर्षअघि दाजु बहिनी एकै साथ सुब्बा बनेका हुन् । अहिले दाजु भाइ एकै साथ शाखा अधिकृतमा नाम निकाल्न सफल भएका छन् । एकाघरका सरकारी सेवामा लागेकाहरू त धेरै भेटिन्छन् । जस्तो अहिले लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाईको सातै जना दाजुभाइ दिदी बहिनी सरकारी जागिरे हुन् । निजामती सेवामा प्रवेश गर्ने हर कोहीको लक्ष्य हुन्छ, सो सेवाको उच्च ओहोदा अर्थात् सचिवसम्म बन्ने तर सबैले यो लक्ष्य भेट्टाउँदैनन् । अहिले उनीहरूका दाजु र बहिनी नै एकसाथ नेपाल सरकारका सचिवको रूपमा कार्यरत छन् ।

Advertisement 3

तर एकै पटक दाजुभाइ वा दिदीबहिनीले अधिकृतमा नाम निकालेको घटनाचाहिँ पहिलो हुन सक्छ । भन्छन् नि जीवन नियमले कम र संयोगले बढी चल्छ । सरकारी सिन्दुर पहिरिने धेरैको लक्ष्य र चाहना हुन्छ तर जीवनका सबै चाहना र उद्देश्य कहाँ पूरा हुन्छन् र ? बोकिएका लक्ष्य र सपना पूरा गर्नका लागि त चाहिन्छ कठोर मिहिनेत, दृढ आत्मसंकल्प र निरन्तरको सत्प्रयास । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका पार्वती र बसन्ती भट्टसमेत एकैपल्ट शाखा अधिकृतमा उत्तीर्ण भएका छन् । उनीहरूले पनि पहिलो प्रयासमै नाम निकाल्न सफल भएर एकसाथ नियुक्ति र पदस्थापनको पत्र पाएका छन् । जेठी दिदी जयन्ती माध्यमिक तहको शिक्षक, माइली दिदी बिस्ना शिक्षक सेवा आयोग तयारी गर्दै । दुई दाजुमध्ये जेठो जीवन अधिकारकर्मी र पुष्प अमेरिकामा । यसअघि नाम निकालेर सुब्बाका रूपमा कार्यरत रहेका उनीहरू समायोजन एकै ठाउँ बेलौरी नगरपालिकाको कार्यालयमा भएको र त्यहाँ सँगसँगै शाखा अधिकृतको तयारी थालेर सफलता पनि पाएको सुनिएको छ । भन्छन् नि जीवनमा एक छाक खाना दिनेभन्दा प्रिय हुन्छ बाटो देखाइदिने मान्छे । यो तिनको जीवनको एउटा सानो उपलब्धि मात्र हो । यहाँसम्मको बाटो तय गर्दा र यो गन्तव्यसम्म पुग्नका लागि हौसला दिने, साथ दिने सबै–सबैप्रति कृतज्ञता प्रकट गरेका छन् दिनेश खनालले ।

प्रकाशित :२०७८ माघ २७, बिहीबार १४:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry