पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ। सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गरेका छन्।
Advertisement 1
धादिङको गल्छीस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उनले विपद्का बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताए।
“पीडित परिवारले कति छिटो राहत पाए र सरकारको उपस्थिति महसुस गरे भन्ने विषय महत्वपूर्ण हो”, सभामुख अर्यालले भने, “एक जना पनि पीडित नागरिकले ‘सरकार पाइनँ’ भन्ने अवस्था आउनुहुँदैन।”
Advertisement 2
सभामुख अर्यालले बाढीबाट विस्थापित परिवारलाई यथाशीघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउने गरी पुनःस्थापनाका काम द्रुत प्रक्रियाबाट अघि बढाउन सरकारसँग समन्वय भइरहेको जानकारी दिए।
राहत वितरणलाई न्यायोचित र व्यवस्थित बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकद्वार प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
Advertisement 3
वास्तविक पीडितको पहिचान गरी सबै प्रभावित परिवारले समान रूपमा राहत पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
सभामुख अर्यालले प्रभावित नागरिकलाई अनावश्यक प्रशासनिक झन्झट नदिई स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकाय आफैँ प्रभावित क्षेत्रमा पुगेर मानवीय तथा भौतिक क्षतिसँगै कृषि, व्यापार–व्यवसाय र जीविकोपार्जनमा पुगेको क्षतिको यथार्थ विवरण सङ्कलन गर्नुपर्ने बताए।
उनले जोखिमयुक्त बस्तीको सुरक्षित स्थानान्तरण तथा दीर्घकालीन पुनर्निर्माणका लागि भविष्यको जोखिमसमेत ध्यानमा राखेर नीति र मापदण्ड निर्माण गर्नुपर्नेे उल्लेख गरे।
त्यस अवसरमा सभामुख अर्याललाई स्थानीय जनप्रतिनिधि, प्रशासन तथा प्रभावित बासिन्दाले गल्छी क्षेत्रमा बाढीपहिरोबाट भएको क्षति, क्षतिग्रस्त सडक तथा पुलको अवस्था, पुनर्निर्माण र तत्काल आवश्यक राहतबारे जानकारी गराए।








