बुद्धभूमिमा लालपुर्जा वितरण

कपिलबस्तु। जिल्लाको बुद्धभूमि नगरपालिकाका जग्गाधनीले लालपुर्जा प्राप्त गरेका छन्।
Advertisement 1
बुद्धभूमि नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा बुद्धभूमि–८ मा आयोजित कार्यक्रममा वडा नं. ७ र ८ का ७३० जग्गाधनीलाई जग्गाको लालपुर्जा वितरण गरिएको हो।
वडा नं. ७ का ३३८ र वडा नं. ८ का ३९२ गरी ७३० जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ। लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण अभावमा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा प्राप्त भएपछि आफ्नो सम्पत्तिको स्वामित्व स्थापित गर्न सहज हुने भएको छ।
Advertisement 2
बुद्धभूमि नगरप्रमुख केशवकुमार श्रेष्ठले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो। लालपुर्जा प्राप्त भएपछि स्थानीयवासीको जग्गामाथिको स्वामित्व सुरक्षित हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा सहज हुने उनले बताए।
“नगरपालिकाभित्र रहेका गाउँब्लक जग्गाधनी सबैलाई क्रमशः प्रमाणपुर्जा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ,” उनले भने। बाँकी जग्गा दर्ताको काम सम्बन्धित निकायसँग समन्वय गरी छिटो सम्पन्न गर्न पहल गरिने उनले जानकारी दिए।
Advertisement 3
नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया अघि बढाएर प्रमाणपुर्जा वितरण गरिएको बताउनुभयो। प्रमाणपुर्जामा नाम, कित्ता नम्बर, क्षेत्रफललगायत विवरणमा त्रुटि भए सच्याउन सकिने भएकाले प्रमाणपुर्जा प्राप्त गरेपछि विवरण ध्यानपूर्वक जाँच गर्न उहाँले जग्गाधनीलाई आग्रह गरे।
यसअघि बुद्धभूमि–५ का ३३५, वडा नं. ६ का ६२० र वडा नं. १० का ७३१ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको छ। वडा नं. ७ र ८ का ७३० समेत गरी बुद्धभूमि नगरपालिकामा हालसम्म २ हजार ४१६ घरपरिवारले लालपुर्जा प्राप्त गरेका छन्।








