नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Advertisement 1

बैंक सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित बोनस शेयरका लागि कुल १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा रकम छुट्याइएको बैंकले जनाएको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश छ।

Advertisement 2

त्यस्तै, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि हुने र रकममा करसमेत समावेश रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ।

Advertisement 3

आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश वितरणको प्रस्ताव गरिएको बैंकले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ।

नबिल बैंकले आफूलाई निरन्तर विश्वास र साथ प्रदान गर्ने शेयरधनी, ग्राहक, नियामक निकाय तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित :२०८३ भाद्र २२, सोमबार ०९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry