भरतपुरको आय र केही गौरवका आयोजनाहरु
Advertisement 1
– अजय गोर्खाली
चितवन/हालै सातौं नगरसभा सम्पन्न भएको भोलिपल्ट मंगलबार भरतपुर महानगरपालिका कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सभामा नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनको सीक्षात्मक प्रस्तुति सहित महानगरपालिकाले दिएको जानकारी अनुसार चालु आ.व. २०७७÷०७८ को लागि कुल राजस्व रु. ३ अर्ब ३१ करोड ६४ लाख ८९ हजार मध्ये आन्तरिक स्रोततर्फ रु. ९० करोड अनुमान गरिएको ।
उक्त आन्तरिक राजस्वका स्रोतका शीर्षकहरुमा मुख्य रुपमा घर बहाल करतर्फ ८ करोड, नक्सा पास दस्तुरतर्फ रु. ७ करोड २० लाख, एकीकृत सम्पत्ति करतर्फ रु. ४ करोड, व्यवसाय दस्तुरतर्फ रु. ६ करोड, विभिन्न सिफारिस दस्तुरतर्फ रु. ७ करोड, अन्य क्षेत्र आय रु. ४० करोड, अन्य बिक्रीमा ढुंगा, गिट्टी लगायतको बिक्रीबाट जम्मा रु. ६ करोड ८० लाख समेत गरी राजस्व प्रक्षेपण गरिएको छ ।
गत पौष २३ सम्म महानगरपालिकाको आन्तरिक राजस्व रु. २२ करोड २७ लाख ९९ हजार १४ रुपैयाँ संकलन भएको छ, जुन गत आ.व. को सोही अवधिको तुलनामा ४.४१ प्रतिशतले कमी भएको महानगर बताउँछ । ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को प्रभाव लगायतका कारण महानगरपालिकाको आन्तरिक आयमा केही कमी आएको छ, महानगर प्रमुख रेनु दाहाल भन्छिन्, ‘यद्यपि यस अवधिसम्मको आन्तरिक आयको तथ्याङ्कलाई विश्लेषण गर्दा निराशाजनक अवस्था भने देखिँदैन ।
चालु आ.व.को बाँकी अवधिमा लक्ष्य अनुसार राजस्व असुलीका लागि साना–ठूला करदाताको सूचीकरण, वडामा स्थलगत रुपमा कर शिक्षा र स्थलगत रुपमा व्यवसाय दर्ता अभियान सञ्चालन, करदाताको कर अभिलेखाङ्कन डिजिटलाइजेसन तथा अनलाइन भुक्तानीको व्यवस्था जस्ता उपायहरु अवलम्बनमा जोड दिई करको दायरा फराकिलो पार्दै करदातामैत्री प्रणाली विकास मार्फत् लक्ष्य हासिल गर्न सकिने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी बताउँछन् ।
गौरवका आयोजना अन्तर्गत महानगरपालिकाको आफ्नो लगानीमा सञ्चालन भएका योजनाहरुमा भरतपुर मेट्रो प्लाजाका लागि वडा नं. ३ मा बहुद्देश्यीय भवन निर्माणको प्रस्ताव मूल्यांकनको अन्तिम चरणमा रहेको जनाइएको छ । निर्माण अवधि तीन वर्ष र सञ्चालन अवधि २७ वर्ष गरी जम्मा ३० वर्षको लागि निजी क्षेत्रलाई निर्माण सञ्चालन तथा हस्तान्तरण विधिबाट निर्माण हुने गरी आगामी एक महिनाभित्र सम्झौता गर्ने तयारी भइरहेको बताइएको छ ।
यसैगरी देशकै गौरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि महानगरको पहलमा प्राप्त भएको जग्गामा निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ । त्यसका लागि महानगरपालिकाको सक्रियतामा सञ्चालित धनधान्याचल महायज्ञको माध्यमबाट करिब रु. ७० करोड संकलन भएको र आन्तरिक स्रोतबाट यसै आ.व.मा रु. ४ करोड अनुदान स्वरुप उपलब्ध गराएको महानगरले जनायो ।
प्राप्त जानकारी अनुसार महानगरपालिकाको सहलगानीमा अहिले दुई अर्ब ४१ करोड भन्दा बढीका खानेपानी आयोजनाहरु सञ्चालनमा छन् । मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रमका साथै आर्थिक विपन्न छात्राहरुलाई साईकल वितरण र क्षमता विकास लगायतका कार्यक्रमका लागि कार्यविधि तयार गरी कार्यान्वयनको चरणमा रहेको जनाइएको छ । अन्य शिक्षा, स्वास्थ्य, कृषि, पशु, सहकारी, पर्यटन, उद्योग लगायत क्षेत्रको विकासका कामहरु त हुने भई नै हाले । नारायणी नदी किनारलाई सि विच मोडेलमा विकास गर्ने, यातायात कार्यालय स्थापना गर्ने विषय पनि छ ।
महानगरपालिकाको सक्रियता र समन्वयमा निर्माण गरिएका योजनाहरुमा हुलाकी सडकको स्तरोन्नतिको कार्य भइरहेको, भरतपुर विमानस्थल विस्तार एवम् सुधारका लागि लामो प्रयास र विभिन्न चरणमा छलफल भई गति लिएको मेयरले बताइन् ।
चौबीसकोठी–मेघौली सडक खण्डको निर्माण र मर्मत कार्य अगाडि बढिरहेको, महानगरको गौरवको योजनाको रुपमा रहेको सिटी हल निर्माणको लागि रु. ८८ करोड सघन सहरी तथा भवन आयोजनाबाट ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको छ । पुलचोक–गोन्द्राङ सडक ६ लेनको बन्दैछ । स्मार्ट सडकबत्तीका लागि नेपाल विद्युत प्राधिकरणबाट बोलपत्र आह्वान भई सम्झौता भएर सात महिनाभित्र सम्पन्न गर्ने गरी कार्य प्रारम्भ भइसकेको जनाइएको छ । ‘करिब ९५ किमि महानगरीय रिगरोडको लागि सडक विभागबाट डीपीआर तयार भइसकेको छ । सहरी विकास तथा भवन निर्माण विभागबाट ११.५ किमि सडक निर्माण कार्य सम्पन्न हुने चरणमा छ, उनले भनिन्, ‘सडक विभागबाट यही आ.व.मा रिगरोड निर्माणका लागि बाँकी खण्ड ठेक्कापट्टा गर्ने गरी आवश्यक कार्य अगाडि बढाइएको छ । रिगरोडको केही खण्ड महानगरको बजेटबाट समेत स्तरोन्नति गरिएको छ ।बताइएअनुसार महानगरपालिकाबाट गत आ.व.मा टेण्डर भएका ११८ वटा आयोजना मध्ये ९० वटा आयोजनाहरु सम्पन्न भइसकेका छन् भने बाँकी २८ वटा आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् । ‘आयोजनाहरुको पनि गुरुयोजना तयार गरेर सम्पन्न गर्न महानगर अगाडि बढेको छ, मेयर रेनु भन्छिन्, ‘हामीले आफ्नो इमानदारिता, लगनशीलता र सक्रियतामा कमी गरेका छैनौं ।